१५ साउन-चालू वर्षको दोस्रो त्रैमासमा विश्वव्यापी मोबाइल फोन बजार ११.३ प्रतिशतले विस्तार भएसँगै प्रसिद्ध प्रविधि कम्पनी एप्पल इंकले विश्वकै सबैभन्दा ठूलो मोबाइलफोन निर्माता कम्पनी नोकियालाई स्मार्टफोन बिक्रीका आधारमा पाखा लगाइदिएको छ ।आम्दानी तथा नाफाका दृष्टिले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन विक्रेता बनेसँगै विश्वमा एप्पलको स्मार्टफोन बजार हिस्सा बढेर १८.५ प्रतिशत पुगेको छ । चालू वर्षको दोस्रो त्रैमासमा एप्पलले २ करोड ३ लाख एकाइ आईफोन बिक्री गरेको छ । जुन बिक्री संख्या गत वर्षको दोस्रो त्रैमासको तुलनामा १ सय ४२ प्रतिशतले उच्च हो ।यसैगरी, सामसुङको स्मार्टफोन बिक्री संख्या १ करोड ९२ लाख पुगेको छ, जुन...
बिक्री संख्या गत वर्षको सोही अवधिको तुलनामा ५ सय २० प्रतिशतले उच्च हो । चालू वर्षको दोस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन बजारमा सामसुङको हिस्सा बढेर १७.५ प्रतिशत पुगेको छ ।
बिक्री संख्या गत वर्षको सोही अवधिको तुलनामा ५ सय २० प्रतिशतले उच्च हो । चालू वर्षको दोस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन बजारमा सामसुङको हिस्सा बढेर १७.५ प्रतिशत पुगेको छ ।
यसरी लामो समयदेखि विश्व स्मार्टफोन बजारमा वर्चस्व जमाइराखेको नोकियालाई एप्पल र सामसुङ दुवैले बिक्रीका आधारमा उछिनेका छन् । फिनल्यान्डको मोबाइल फोन निर्माता कम्पनी नोकियाको बजार हिस्सा विश्व स्मार्टफोन बजारमा घटेर १५.२ प्रतिशतमा झरेको छ । जुन बजार हिस्सा गत वर्षको तुलनामा झन्डै आधाभन्दा पनि कम हो ।
सन् २०१० को दोस्रो त्रैमासमा नोकिया विश्वको नम्बर एक स्मार्टफोन निर्माताको रूपमा रहेको थियो, विश्व स्मार्टफोन बजारमा कम्पनीको हिस्सा ३८.१ प्रतिशत कायम थियो, तर हाल आएर एप्पल र सामसुङका तुलनामा नोकियाको बजार हिस्सा घट्दै आएको छ ।
इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) ले सार्वजनिक गरेको प्रतिवेदनले वार्षिक आधारमा चालू वर्षको दोस्रो त्रैमासमा विश्वव्यापी मोबाइल फोन बजार ११.३ प्रतिशतका दरले वृद्धि भएको देखाएको छ । यद्यपि ‘फिचर फोन’ बजारमा विगत २ वर्षयता पहिलो पटक गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । दोस्रो त्रैमासमा विश्व ‘फिचर फोन’ बजार ४ प्रतिशतले संकुचित भएको आईडीसीको प्रतिवेदनले देखाएको छ ।
मुख्यगरी आर्थिक रूपमा धनी राष्ट्रहरू (अमेरिकी, जापान र पश्चिमी युरोप) को ‘फिचर फोन’ बजारमा कमी आएको प्रतिवेदनमा उल्लेख छ । त्यस क्षेत्रका मोबाइल फोन प्रयोगकर्ताहरू स्मार्टफोनतर्फ बढी केद्रित भएकोले ‘फिचर फोन’ बजार आरोलो लागेको हो ।
‘फिचर फोन’ बजारमा आएको गिरावटले विश्वको सबैभन्दा ठूलो मोबाइलफोन आपूर्तिकर्ता नोकियालगायतका कम्पनीहरूलाई ठूलो धक्का पुगेको छ ।
समग्रमा चालू वर्षको दोस्रो त्रैमासमा विश्वभरका मोबाइल फोन निर्माता कम्पनीहरूले कुल ३६ करोड ५४ लाख एकाइ मोबाइल फोन बिक्री गर्न सफल भएका छन्, जुन संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ४ करोडले उच्च हो । गत वर्षको दोस्रो त्रैमासमा विश्वभर ३२ करोड ८४ लाख एकाइ मोबाइल फोन बिक्री भएका थिए ।
यसरी विश्व स्मार्टफोन बजारमा एप्पल र सामसुङभन्दा पछाडि परे पनि नोकिया समग्रमा मोबाइल फोन बिक्रीका आधारमा अहिले पनि विश्वको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता कम्पनीको स्थानमा छ । विश्व मोबाइल बजारमा नोकियाको हिस्सा २४.२ प्रतिशत कायम छ । त्यसपछि क्रमशः सामसुङ, एलजी इलेट्रोनिक्स, एप्पल र ज्याडटीईलगायतका कम्पनीहरू छन् । स्रोत: कारोबार