श्रीमती हत्या अभियोगमा प्रहरीले सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय मागसहित मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयमा मिसिल बुझाएको छ । कर्तव्य ज्यान मुद्दामा उनलाई सर्वस्वसहित जन्मकैद र हातहतियार तथा खरखजाना मुद्दामा तीन वर्ष कैदको माग गरिएको छ । रञ्जनकी कान्छी भनिएकी तारा रेग्मीलाई पनि सहअभियुक्त बनाई मुद्दा चलाउने रायसहितको अनुसन्धान मिसिल प्रहरीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको हो । सरकारी वकिल कार्यालयले भने बिहीबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको छ । रञ्जनले...
योजनाबद्ध रूपमा नै श्रीमती गीताको हत्या गरेकाले उनलाई सर्वस्वसहित जन्मकैदको माग गरी मिसिल सरकारी वकिलकोमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए । २७ पुसमा श्रीमतीको हत्या गरेका रञ्जन ८ माघमा पक्राउ परेका थिए ।
योजनाबद्ध रूपमा नै श्रीमती गीताको हत्या गरेकाले उनलाई सर्वस्वसहित जन्मकैदको माग गरी मिसिल सरकारी वकिलकोमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए । २७ पुसमा श्रीमतीको हत्या गरेका रञ्जन ८ माघमा पक्राउ परेका थिए ।
श्रीमतीको हत्यापछि रञ्जन शव जलाएर प्रमाण नष्ट गर्दै आफूलाई जोगाउने प्रयासमा लागेका थिए । श्रीमतीको शव फालेको ठाउँमा दोस्रोपटक पुग्दा शंकास्पद लागी उनलाई स्थानीयले पक्राउ गरेका थिए । तर, स्थानीय प्रहरीलाई प्रभावमा पारी छुट्न सफल भएको भोलिपल्ट काठमाडौं फकर्दै गर्दा पक्राउ परेका उनले आफूले श्रीमतीको हत्या गरेको स्विकारेका थिए ।
रञ्जनसँग केही वर्षदेखि सँगै बस्दै आएकी तारालाई प्रहरीले २३ माघमा पक्राउ गरेको थियो । हत्यामा उनको पनि अप्रत्यक्ष सहयोग रहेको भन्दै प्रहरीले उनीविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दायर गर्न माग गरेको हो ।
रञ्जनको स्वयम्भूस्थित घरबाट अवैध हतियारसमेत बरामद भएकाले प्रहरीले उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा पनि दायर गर्न लागेको हो । रञ्जनको घरबाट म्याग्जिन नभएको म्याग्नेम हतियार, त्यसको ३० राउन्ड गोली, काठको बिँड भएकोे कटुवा पेस्तोल, त्यसको पाँचवटा गोली र अन्य ९७ थान गोलीसमेत बरामद गरिएको थियो । रञ्जनले एउटा पेस्तोलको लाइसेन्स लिएर राखेको बताइए पनि अन्य हतियार भने अवैध रूपमा राखेको पाइएकाले उनीविरुद्ध हातहतियार मुद्दा पनि चलाउन लागिएको प्रहरीले जनाएको छ ।
सम्बन्धविच्छेदको चर्चा चलिरहेका वेला रञ्जनले श्रीमतीको हत्या गरेका थिए । पहिला नै योजना बनाएर श्रीमतीको हत्या गरेको प्रमाण प्रहरीले फेला पारे पनि उनले भने झगडाको क्रममा श्रीमतीको मृत्यु भएको दाबी गर्दै हत्यालाई भवितव्य बनाउने गरी बयान दिएका छन् । स्रोत: नयाँपत्रीका