आमा शब्दको महत्व

संस्कृतमा आमा बुझाउने माता शब्द अत्यन्त पि्रय छ। मात्रा भवतु संमनाः -अथर्ववेद ३/३०/२) भन्ने ऋचाले 'उदर -गर्भ) मा शरीरको धारण गर्ने माताको महत्तालाई बुझाउँछ।' यस्तै 'आपदि मातैव शरणम्' अर्थात् आपत्का बखत माताको सम्झना गरिन्छ। कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ। अप्ठ्यारो परिस्थितिमा मुखबाट आमा शब्द नै  निस्कन्छ। 'मात्रा सम नास्ति शरीर पोषणम्।' अर्थात् प्राणीका लागि माताले जस्तो हेरचाह र पोषण प्रदान गर्ने कोही हुँदैनन्। मानिसमा मात्र नभै अन्य प्राणीमा पनि आमाको भूमिका प्रशंसनीय छ। चराले किन टाढा-टाढासम्म पुगेर आफूले नखाएर पनि...


चुच्चोमा आहार च्यापेर ल्याउँछ ? भर्खरै जन्मिएको बाछाको नजिक जाँदा गाईले किन हान्न खोज्छ ? बाँदरको बच्चालाई चलाउन खोज्दा किन बाँदरहरू उठेर आउँछन् ? यी सबैको उत्तर एउटै छ-प्राणीलाई आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैनन्।  

आमाको ममताको प्रसंगमा एउटा कथा प्रचलित छ। पौराणिक कालको देवपत्तन नगरमा सगुरी र निगुरी नामका दुई नारी बस्थे। अचानक एउटीको छोरो हरायो, अर्कीले भेट्टाई। सगुरी र निगुरी नामका ती दुई नारी एउटा छोराको बीचमा आए। उक्त छोरालाई दुवैले आफ्नै सन्तान भएको दाबी गरे। अब न्यायका लागि न्यायाधीशकहाँ जानुपर्ने भयो। उक्त मुद्दा फैसलाका लागि आफूकहाँ आउँदा न्यायाधीश स्वयंलाई पनि फसाद पर्‍यो। के गर्ने ? कसरी गर्ने भन्ने अलमलपछि न्यायाधीशले एउटा निष्कर्षमा पुग्दै दुवैसँग प्रश्न गरे- अब यो बालकलाई आराले बीचबाट चिरेर दुई भाग लगाई एक-एक भाग बाँडिदिन्छु।' न्यायाधीशको यस्तो बचन सुन्नेबित्तिकै सगुरीको ममता उर्लिएर आयो। उनले भनिन्-बरू मलाई मेरो छोरा चाहिँदैन, उसलाई नकाट्नू। तर निगुरी बालकको आधा शरीर भए पनि स्वीकार गर्न तयार भइन्। यसबाट न्यायाधीशले उक्त सन्तान सगुरीको नै भएको थाहा पाए। यो कथनले आमाको ममता, स्नेह, त्याग गर्न सक्ने शक्ति तथा अगाध प्रेमलाई स्पष्ट पार्छ। 

आमाको कुरा गर्दा एउटा प्रख्यात हिन्दी भनाइ छुटाउन मिल्दैन- नारी निंदा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर खुमान। अर्थात् नारी जातिको निन्दा कहिल्यै नगर्नू, उनीहरूको अवहेलना नगर्नू किनभने नारी भनेका पुरुषका स्रोत हुन्। तुलसीदास, सुरदासजस्ता विद्वान्हरू पनि नारीकै कोखबाट जन्मिएका हुन्। नारी अर्थात् आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्चस्थानमा राखेर व्याख्या गरिएको छ। माताको प्रेम मनुष्य जातिमा मात्र सीमित नरही चराचर जगत्का प्रत्येक प्राणीमा उत्तिकै देखिन्छ। जन्मदाता एवं पालनकर्ता भएका कारण पूज्यहरूमा पनि अति पूज्य जनक तथा पिता कहलाउँछन्। जन्मदाताभन्दा अन्नदाता पिता श्रेष्ठ मानिन्छन्। त्यसभन्दा सय गुणा श्रेष्ठ एवं वन्दनीय माता हुन्छिन् किनभने उनी सन्तानलाई गर्भधारण तथा पोषण प्रदान गर्छिन् भन्ने कुरा ब्रह्मवैवर्त पुराणमा उल्लेख छ।  

पौराणिक कालमा आमाको उपदेशबाट सन्तानले सफलता प्राप्त गरेका कथा थुप्रै छन्। पौराणिक कालमा विदुला नामकी महारानी थिइन्। उनको सञ्जय नाम गरेको पुत्र त्यही देशको राजा थियो। एकदिन छिमेकी सिन्धुराज्ाले उक्त राज्यमा आक्रमण गर्‍यो। युद्धबाट विदुलापुत्र सञ्जय भाग्न बाध्य भयो। जब विदुलाले आफ्नो पुत्र कायर भै युद्ध छोडेर आएको देखिन् तब उनले क्रोधित मुद्रामा पुत्रलाई भनिन्-थुक्क लाछी, कायर, डरपोक, तँ त बरू मरेको भए हुन्थ्यो। तैंले मेरो दूध खाएको रैनछस्। यदि तैंले मेरो दूध खाएको भए यसरी युद्धलाई अधूरै छाडी आउँदैनथिस्। तँ यसरी जिउँदै आउनुको साटो बरू तेरो लास आएको भए मेरो चित्त बुझ्थ्यो। तैंले आपना पुर्खाको गौरवलाई माटोमा मिलाइस्। धिक्कार छ मलाई तँजस्ताकी आमा भएकोमा।' आमाको यस्तो बचन सुनेर सञ्जय पुनः युद्धमा फर्कियो र सिन्धुराजमाथि विजय प्राप्त गरेर आमाका सामु उपस्थित भयो। त्यसबेला विदुलाले बहादुर छोराकी आमा भएकोमा गर्वले छाती फुलाउँंदै भनिन्-स्यावास् छोरा, तँ मेरो रगत होस्। 

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता, नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः। अर्थात् जुन देवी सबै प्राणीमा माताको रूप लिएर रहन्छिन् उनलाई नमस्कार, नमस्कार, बारम्बार नमस्कार भनेर दुर्गाशप्तशतीले आमाप्रति श्रद्धा अर्पण गरेको छ। आमाको सम्मान, प्रतिष्ठा र स्नेह अतुलनीय छ। उनीप्रतिको कर्तव्य जति निर्वाह गरे पनि पूर्ण हुँदैन। सन्तानका लागि माताको स्थान पिताको भन्दा बढी छ किनभने उनले सन्तानलाई गर्भधारण गरेकी छिन्  र उनैद्वारा तिनको पालनपोषण भएको छ। 'कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति।' भनिएकाले तीनै लोकमा आमासमान दोस्रो गुरु कोही छैन। नारी मातृदेवता हुन्। शास्त्रमा आमाको गौरव गुरुभन्दा दस लाख, आचार्यभन्दा लाख तथा पिताभन्दा हजार गुणा बढी हुने बताइएको छ। 

नारीको अस्तित्व मातृत्वमै समाहित हुन्छ। प्राचीन शिक्षा प्रणालीमा ब्रह्मचारीलाई 'मातृवत् परदारेषु अर्थात् सबै नारी जाति आमा हुन्' भन्ने शिक्षा दिएर सबै नारीमा आमाको रूप देख्न सम्झाइन्थ्यो। यसबाट माताको मातृत्व केवल आफ्नै सन्तानमा मात्र सीमित हुँदैन भन्ने पुष्टि हुन्छ। शास्त्रीय दृष्टिमा मातृत्व दयामयी महामाया वा जगन्माताको प्रसाद पनि हो। वेदमा सोह्र प्रकारका आमाको उल्लेख छ-दूध पिलाउने, गर्भधारण गर्ने, भोजन दिने, गुरुपत्नी, इष्ट देवताकी पत्नी, पिताकी पत्नी -सौतेनी आमा), पितृकन्या -सौतेनी बहिनी), सहोदर बहिनी, छोरा-बुहारी, सासू, आमाकी माता, पिताकी माता, भाइबुहारी, सानीमा, फुपू र माइजू। यी सबै नारी पूजनीय छन्। यिनको आफ्नै धर्म र महत्त्व छ। पुरुषले यिनलाई आमाका रूपमा हेर्नुपर्ने ज्ञान वेदले दिएको छ। 

यद्यपि समयसँगै हरेक कुरामा आएको परिवर्तनका कारण आज आमाछोरा वा आमाछोरीबीचको सम्बन्ध मानसिक रूपमा भलै टाढा नहोला तर शारीरिक रूपमा भने टाढिँदै गएको पाइन्छ। आजको व्यस्त युगमा सबैसँग सँगै बसिरहने समय हुँदैन। करियर बनाउने दौडमा आमादेखि छुट्टएिर बसेका कतिपय सन्तान मदर्स डे मा इन्टरनेटमार्फत न्याउरो अनुहार लगाएर बल्लतल्ल केही क्षण कुरा गर्ने फुर्सद निकाल्छन् त कतिपयले त्यसो गर्न पनि नभ्याएर तिथिअघि नै वा केही दिनपछि भए पनि अनलाइन गिफ्ट पठाएर चित्त बुझाउँछन्। समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् तर आमाप्रतिको श्रद्धा र महत्त्व उही उचाइमा छ। युगकवि सिद्धिचरण श्रेष्ठले 'आमा' कवितामा लेखेका छन्।



आमा तिमी जन्म दिने मलाई


आमा तिमी प्राण दिने मलाई


आमा तिमी बोट, म फूल त्यसको 


हो दान तिम्रै जति जे छ मेरो।


स्रोत: नारी (लक्ष्मी भण्डारी थापा बाट)

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel